हेटौँडा । मकवानपुरमा लोकतान्त्रिक वाम गठबन्धनले आफ्नो चुनावी कार्यक्रम शुरु गरेको छ ।
आइतबार मकवानपुर गढीको शिखरकटेरीमा लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवम् नेकपा ( एकीकृतसमाजवादी ) स्थायी कमिटी सदस्य विरोध खतिवडाले उद्घाटन गर्नु भयो ।
मकवानपुर गढी गाउँपालिका यस्तो भूगोल हो, जहाँको ८ वटा वडा मध्ये ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ र ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । ती वडा मध्ये ४ वडा निर्वाचन क्षेत्र नम्बर १ को क मा पर्छ, त्यहाँ लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु उम्मेदवार हुनुहुन्छ भने ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ को पनि क मा पर्छ, त्यहाँ पनि माओवादी पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन कार्यालय उद्घाटन पछि बाँधमा भएको तिहार, नेपाल सम्बत् , छठ, लोसारको शुभकामना कार्यक्रममा गठबन्धनका पाँच उम्मेदवारले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सहमहामन्त्री एवम् निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधान, संसद् र लोकतन्त्रको हरण हुनबाट जोगाउन लोकतान्त्रिक वाम गठबन्धन कायम रहने बताउनु भयो । उहाँले भन्नुभयो, ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिहरूले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो ।’ एमालेले गरेको गठबन्धन अपवित्र भएको उहाँको भनाइ थियो ।
उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेटहरु पहिलादेखि नै व्यवस्था गर्दै आएको बताउनु भयो । उहाँले कतै माओवादीको, कतै समाजवादीको र कतै कांग्रेसको उम्मेदवार छैन भन्दै उक्साउन आउनेहरुलाई कमल थापा बोकेर कस्तो लोकतन्त्र र गणतन्त्रको अनुभूति गराउन खोजेको भन्ने प्रश्न गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै अर्का वक्ता निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार, नेकपा ( एकीकृतसमाजवादी ) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले पश्चिम मकवानपुरको विकासमा आफ्नो दशकौँ लगानी रहेको बताउनु भयो । बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, विकास, भौतिक पूर्वाधार सबै क्षेत्रमा कायापलट गराउने काममा आफ्नो भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो, ‘तीन वर्ष मुख्यमन्त्री भएका कसैले कुनै एउटा योजना १० करोड माथि पारेको भेटिनँ, मेरो कुरा काटेरै दिन बिताएछन् ।’
खतिवडाले केपी ओलीले दुई दुई पटक संसद् विघटन गरेर लोकतन्त्र मास्न खोजेको र अहिले पनि कमल थापा, राजेन्द्र लिङ्देनहरु बोकेर संविधानको मर्ममा प्रहार गर्दै अराजकता मच्चाउन खोजेको बताउनु भयो । गठबन्धनलाई मत दिन खतिवडाको आग्रह थियो । भन्नुभयो, ‘२०३६, ४६, ६३ को आन्दोलन दबाउन खोज्ने कमल थापा यतिखेर सूर्य चिन्ह बोकेर जनताको बहुदलीय जनवादको व्याख्याता भएका छन्, कमल थापाले एमाले पार्टीमा प्रवेश गराउने कार्यक्रममा छेउछाउमा डोरमणि पौडेल र रामेश्वर राना ६-६ वटा दाँत देखाएर बसिरहेका देखिन्छन् ।’
कार्यक्रममा सामाजिक विकास मन्त्री एवम् माओवादी पोलिटब्युरो सदस्य कुमारी मुक्तानले पाँच वर्षमा आफ्नो भूगोलमा विकासको कार्यक्रमहरु पारेको बताउँदै गठबन्धन विजय नजिक पुगिसकेको बताउनु भयो । उहाँले बागमती केन्द्र सरकार, प्रदेश सरकारमार्फत हुने विकास निर्माणका कामका लागि पनि गठबन्धनलाई मत दिन आग्रह गर्नु भयो । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को क मा उम्मेदवार हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले नेकपा एमाले र राजावादी शक्तिहरुको बदमासीविरुद्ध गठबन्धन उभिएको र मकवानपुरको समग्र विकासका लागि मत दिन आग्रह गर्नु भयो । अनेक आश्वासन दिने, भ्रम फैलाउनेबाहेक एमालेको खास काम नदेखिएको पुलामीको भनाइ थियो । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को क मा उम्मेदवार हुनुहुन्छ ।
नेपाली कांग्रेस मकवानपुरका नेता एवम् मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को ख का उम्मेदवार आनन्दराम पराजुलीले एमालेले ‘तपाईंको पार्टीका उम्मेदवार नै छैनन्’ भन्दै मतदाता भड्काउने बाहेक कुनै नयाँ एजेण्डा नभएको बताउनु भयो । उहाँले गठबन्धनले सबैलाई समेट्ने र मकवानपुरको विकासमा लागि पर्ने भएकाले मकवानपुरका ६ जना नै उम्मेदवारलाई मत दिन आग्रह गर्नु भयो ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ ख का उम्मेदवार एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ भने आइतबार पश्चिम मकवानपुरको मनहरी लगायतका भूगोलमा भएको कार्यक्रममा सरिक हुनु भएको थियो ।
संविधान र व्यवस्था रक्षाको लागि गठबन्धनको जित आवश्यकः बानियाँ
नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस मनहरी गाउँपालिका ६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा उम्मेदवार बानियाँले कांग्रेस सँधैं दिनदुःखीको सेवामा हरतरहले लागिरहेको बताउँदै यस क्षेत्रमा कांग्रेसले अघिल्लो प्रदेशसभामा जितेपछि धेरै विकास निर्माणका कार्य गरिएको बताउनुभयो ।
अगुवा कार्यकर्ताहरुको गुनासा र सुझाव सुन्दै नेता बानियाँले प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको बताउँदै विगत डेढ वर्षदेखि कांग्रेस मन्त्री मण्डलमा प्रवेश गरेपछि करोडौंको विकास बजेट यस क्षेत्रमा पार्न सफल भएकाले सत्ता गठबन्धनलाई जिताउँदा मतको अवमूल्यन नहुने बताउनुभयो ।
कांग्रेस मनहरी ६ का वडा सभापति बाबुराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर क्षेत्र नं. २ ख का प्रदेश सभापति एवम् मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्र्तौला, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी ६ का वडा अध्यक्ष युवराज थपलिया, पुराना तथा अग्रज नेता कुलबहादुर नगरकोटीले सत्ता गठबन्धनको आगामी चुनावकेन्द्रित विषयमा आ-आफ्नो धारणा र सुझाव राख्नुभएको थियो ।
मकवानपुरमा लोकतान्त्रिक बाम गठबन्धनले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क, निर्वाचन क्षेत्र नम्बर २, २ को क र ख मा पुरानै अनुहार अर्थात् प्रेमबहादुर पुलामी, विरोध खतिवडा, कुमारी मोक्तान र ईन्द्रबहादुर बानियाँलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा महालक्ष्मी उपाध्याय डिना र प्रदेश ख मा आनन्दराम पराजुली भने नयाँ अनुहार हुन् ।