देउखुरी । नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरवार झुण्डिएको बताउनु भएको छ ।
दाङ क्षेत्र नं १ (क) , लालमटियामा आयोजित गठबंधन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गर्नु भएको हो । । संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेको बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनायौं ।
समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरुलाई राज्यको मुल धारमा ल्याउने कानुनी व्यवस्था गरियो । हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो । तर केपी ओलीलाई पचेन । जनताले खुसी मनाए तर ओलीको समुहले त्यो खुुसी देख्न सकेन । त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरवार झुण्डिएको छ ।
’राप्ती कोरिडोर, घोराहीलाई बेस मानेर घोराही लमही, घोराही - तुल्सीपुर, लमही रिहारसम्म पोड वेको डिपिआरको तयारी, स्वर्गद्धारी पुग्ने केवलकार, श्रीनारायण चोकदेखि स्वर्गद्धारी जोड्ने बाटो निर्माण जस्ता महत्वपूर्ण योजनाहरु आफुले अघि सारेको बताउँदै क्षेत्र नं १ को गठबन्धनको उम्मेदवार समेत रहेका सहरी मन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको सुनाउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु, माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष गणेश आचार्य, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तिलक केसी, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य देब नारायण चौधरी लगायतले गठबन्धनका पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।