काठमाडौं । नेकपा एकीकृत समाजवादी २० सिटसहित चुनावी मैदानमा छ । सत्तारुढ गठबन्धनको संघीय संसद्को सिट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा २० सिट परेको हो ।
जस अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहटबाट निर्वाचन लड्दै हुनुहुन्छ । नेपालसँग रौतहट १ मा एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनालसँग इलाम क्षेत्र नम्बर १ बाट लड्दै हुनुहुन्छ भने उपमहासचिव जगन्नाथ खतिवडाले उदयपुर २ बाट उम्मेदवारी दिनुभएको छ । खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दा खतिवडाको प्रतिस्पर्धी एमालेकै अम्मरबहादुर रायमाझी छन् ।
हाल बागमती प्रदेशमा मुख्यमन्त्री रहनु भएका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङबाट प्रतिनिधिसभा सदस्यको लागि लड्दै हुनुहुन्छ भने सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट चुनावी मैदानमा हुनुहुन्छ ।
पाण्डे र झाँक्री दुवैको प्रतिस्पर्धा एमालेसँग छ । पाण्डेले एमालेका भूमि त्रिपाठी र झाँक्रीको एमालेकै गोकर्ण विष्टसँग प्रतिस्पर्धा छ ।
त्यस्तै सोमप्रसाद पाण्डे पाल्पा २, मेटमणि चौधरी दाङ १, जीवनराम श्रेष्ठ काठमाडौं ८, शेरबहादुर कुँवर अछाम १, श्रीनाथ बराल कास्की २, विरोध खतिवडा मकवानपुर १, कृष्णलाल महर्जन ललितपुर २, धर्मनाथप्रसाद साह सिराहा ४, कृष्णकुमार श्रेष्ठ बारा ४, भानुभक्त जोशी बझाङ, प्रकाश ज्वाला सल्यान, अम्मरबहादुर थापा दैलेख १, प्रेम आले डोटी र हरिकुमार राना झापा २ बाट निर्वाचन लड्दै हुनुहुन्छ ।
यी २० मध्ये १९ निर्वाचन क्षेत्रमा भने एकीकृत समाजवादीले ‘ एमालेसँग प्रतिस्पर्धा गर्दैछ । सिराहा ४ मा धर्मनाथप्रसाद साहबाहेक सबैमा एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।
रूपन्देही २ मा उक्त पार्टीका उम्मेदवारको उम्मेदवारी निर्वाचन कार्यालयले खारेज गरेपछि कानुनी प्रकृयामा छ ।