बझाङ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा बाम लोकतान्त्रीक गठबन्धका साझा उम्मेदवार नेकपा ( एकीकृत समाजवादी ) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशी र नेकपा एमालेका नेता ऐन महर बीच प्रतिस्पर्धा हुने भएको छ ।
भानुभक्त जोशी बझाङ कम्युनिष्टका संस्थापक नेता हुन् । सरल स्वभावका विकास प्रेमी नेता जोशी जिल्लामा निकै लोकप्रिय कम्युनिष्ट नेता मानिनु हुन्छ । पूर्व बनमन्त्री समेत भइसक्नु भएका जोशी २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसक्नु भएको हो ।
आसन्न निर्वाचनका लागि बाम लोकतान्त्रीक गठबन्धन बीच तालमेल हुँदा बझाङ नेकपा ( एकीकृत समाजवादी ) को भागमा परेको थियो ।
बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोशी २०६४ सालमा आफ्नै स्वकीय सचिव समेत रहेका महर भन्दा जनमतको हिसाबले सशक्त बलियो देखिनु हुन्छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेका कारण प्रतिनिधि सभामा जोशीको उम्मेदवारी एमाले नेता महरका लागि भारी पर्ने देखिएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका पृथ्बीबहादुर सिंह र ख मा नेकपा माओवादी केन्द्रका भिम भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभामा एमालेका तर्फबाट प्रदेश सभा क मा अफिलाल ओखेडा र ख मा एल बी रावल चुनावी मैदानमा छन् ।
बाम लोकतान्त्रीक गठबन्धनको कसिलो तालमेल, साझा उम्मेदवार जोशीको व्यक्तिगत छवि तथा वर्तमान चुनावी अङ्कगणितमा एमाले भन्दा भारी मतान्तरले अगाडि रहेका कारण पनि बझाङमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले टक्कर दिन मुस्किल पर्ने विश्लेषण गरिएको छ ।
यस्तो छ, अहिलेको मतभार
गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई विश्लेषण गर्ने हो भने बाम लोकतान्त्रीक गठबन्धन एमाले भन्दा ८ हजार ३ सय ३२ मतान्तरले अगाडि छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार एक सय ६६, माओवादी केन्द्रले ९ हजार एक सय ४५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । यद्यपि स्थानीय निर्वाचनमा समेत यी दलहरूको चुनावी तालमेल भएका कारण सबै वडामा सबै पार्टीले उम्मेदवारी दिएका थिएनन् ।
स्थानीय तहको निर्वाचनमा सबै पालिकाका सबै वडामा उम्मेदवारी दिएको एमालेले २८ हजार ६११ मत पाएको थियो । यो चुनावी अंकगणितलाई विश्लेषण गर्ने हो भने बझाङमा बाम लोकतान्त्रीक गठबन्धन भन्दा एमाले ८ हजार ३३२ मतले पछाडि छ ।
यस्तो छ विगतको नतिजा
दुई निर्वाचन क्षेत्र हुँदा बझाङ क्षेत्र नम्बर १ मा २०४८ र ०५६ मा नेपाली कांग्रेस विजयी भएको थियो भने २०५१ र २०६४ मा नेकपा एमालेको तर्फबाट भानुभक्त जोशीले जित हात पार्नुभएको थियो ।
२०६४ को निर्वाचनमा देशभरीबाट नेकपा एमाले ३१ सिटमा खुम्चिँदा बझाङमा भानुभक्त जोशीले एक सिट जितेर सुदुर पश्चिममा एमालेको बिउ जोगिएको थियो । यसैगरी २०७० को निर्वाचनमा पनि बझाङ क्षेत्र नम्बर-१ मा नेकपा एमाले बिजयी भएको थियो ।
उता बझाङ क्षेत्र नम्बर-२ मा २०५१ मा स्वतन्त्र उम्मेदवार नरेस सिंहले जित हात पारेका थिए भने २०४८ र २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा माओवादी र २०७० मा एमालेले जित हात पारेको थियो ।
२०७४ मा निर्वाचन क्षेत्र हेरफेर भएर सम्पूर्ण जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएपछि माओवादीको समर्थनमा बामगठबन्धनका तर्फबाट भैरब बहादुर सिंह बिजयी हुनु भएको थियो ।
अहिले बाम लोकतान्त्रिक गठबन्धनको पल्ला भारी छ
केहि समय अघिसम्म प्रतिनिधि सभाको सिट दावि गर्दै आएको बझाङको नेपाली कांग्रेसले गठबन्धनको भागवण्डा मिलाउन आफ्नो दाबि छोडेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई समर्थन गरेको छ ।
बझाङमा नेपाली कांग्रेसबाट अर्जुन जङ्ग बहादुर सिंह, पृथ्वी बहादुर सिंह र नरेश बहादुर सिंहको दावि थियो । कांग्रेसका पृथ्वी बहादुर सिंह बाम लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रदेशसभा क को चुनावी मैदानमा हुनुहुन्छ ।
बझाङ कांग्रेसका प्रभावशाली नेताहरु सत्यराज भण्डारी, जनक बुढा, अर्जुन जङ्ग बहादुर सिंह र नरेश बहादुर सिंह लगायतका नेताहरु एक ढिक्क भएर बाम लोकतान्त्रीक गठबन्धनको पक्षमा उभिनु भएको छ ।
नेकपा एमाले बझाङका संस्थापक नेता समेत रहेका वर्तमान बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले एमालेकै करिब ४० प्रतिशस मत काट्ने नाम उल्लेख नगर्ने सर्तमा नेकपा एमाले बझाङका एक पदाधिकारीको स्वीकारोक्ति छ । आम बझाङी जनतामाझ लोकप्रिय व्यक्तिगत छबिका कारण प्रतिपर्धी एमाले नेता ऐन महरको तुलनामा जोशीले अत्याधिक लोकप्रिय मत पाउने विश्लेषण गरिएको छ ।
बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुवाबी मैदानमा उत्रिएका छन् । काठमाडौंलाई आधार मानेर विद्यार्थी राजनीतिबाट उदाएका महर बझाङका लागि प्रतिपर्धी जोशीको तुलनामा निकै कमजोर देखिन्छन् ।
राजनीतिक योगदान भन्दा पनि नेताको आर्शिवादले टिकट पाएको आरोप लाग्दै आएका महरको उम्मेदवारीले नेकपा एमाले बझाङ भित्रै चरम असन्तुष्टि छ ।
गत स्थानीय निर्वाचनमा आफ्नै सहोदर भाईलाई आफ्नै वडामा वडा अध्यक्ष समेत जिताउन नसकेका महरका लागि जिल्लामा पुराना र त्यागि नेताहरुलाई पन्छाएर टिकट फुत्काउन सफल भएपनि आसन्न निर्वाचन जित हात पार्न चाहिँ फलामको च्यूरा चपाउनु जस्तै रहेको चर्चा बझाङका राजनीतिक विश्लेषहरुबीच हुने गरेको छ ।